स्थानीय तह निर्वाचनको लागि ९५ लाख थान मतपत्र छापियो
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हालसम्म ९५ लाख थान मतपत्र छापिसकेको जनाएको छ । आयोगले आज सोमबार नियमित पत्रकार सम्मेलनको आयोजना गरी देशभरका ७७ जिल्लामध्ये ४६ जिल्लाका लागि पुग्ने ९५ लाख २५ हजार थान मतपत्र छापिसकेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता पौडेलले एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा अहिलेसम्म त्यो परिणाममा मतपत्र छापिसकिएको जानकारी दिए । यसैबीच, निर्वाचन आयोगले भोलि मंगलबार अर्थात बैशाख ६ गते राष्ट्रिय सञ्चारमाध्यमका चुनावसम्बन्धी रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएको छ ।
त्यसैगरी, आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइन बोर्ड, लेटर प्याड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पनि पत्राचार गरेको छ । यस्तै, आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाको आधारमा विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको छ ।
