थप १२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ७ सय ५० जनाको पीसीआर र ७ सय ३९ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८२७ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९ सय ५१ जनाको निधन भएको छ भने ९ लाख ६६ हजार ३ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३६० जना होम आइसोलेसनमा रहेका छन् भने १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
