वृद्धको हत्या गरेको आरोपमा तामाङ पक्राउ
मोरङ । मोरङमा ६४ वर्षीय वृद्धमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्वर ६ का ३५ वर्षीय मणिकुमार तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनसार, मणिकुमारले चैत ३० गते स्थानीय ६४ वर्षीय देवीबहादुर तामाङलाई दाउरा प्रहार गरी घाइते बनाएका थिए ।
देवीबहादुर र स्थानीय मानबहादुर तामाङबीच जग्गाका विषयमा झगडा भइरहेका बेला मणिकुमारले उनीमाथि दाउरा प्रहार गरेका थिए । मानबहादुर मणिकुमारका बाबु हुन् । दाउरा प्रहारबाट गम्भीर घाइते भएका देवीबहादुरको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा बैशाख २ गते मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका मणिकुमारमाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
