मावन कंकालसहित एक भारतीय नागरिक पक्राउ
विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित पक्राउ गरेको हो ।
सिन्हा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत रहेको प्रहरीले प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र, मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १/१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८÷८ वटा बरामद प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्ने पुराना विद्यार्थीबाट अध्ययनका लागि मानव कङ्काल पाएको र पढाइ सकिएपछि घर फर्कने क्रममा लगेको बताएका छन् । उनले मानवको हड्डी लगेको विषयमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई जानकारी नगराएको बताए ।
