कांग्रेस नेता पराजुलीद्वारा विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग
मकवानपुर । नेपाली कांग्रेसका मकवानपुरका नेता आनन्दराम पराजुलीले मकवानपुरको थाहा नगरपालिकास्थित एक विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग गरेका छन् । थाहा नगरपालिका वडा नम्वर ८ ऐँसेलुखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्युटर सहयोग गरिएको हो ।
नेता पराजुलीले सोमबार हेटौंडामा एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक सीताराम घलानलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । नेता पराजुलीले विद्यालयमा कम्युटर शिक्षासँगै विद्यालयको अभिलेख राख्न सहयोग पुगोस् भनेर सहयोग गरेको जानकारी दिए ।
प्रिन्टर र कम्युटर हस्तान्तरण कार्यक्रममा कांग्रेस प्रदेशसभा १ (ख) का क्षेत्रीय सभापति खड्ग गोपाली, कांग्रेस थाहा नगर समितिका सभापति प्रमोद जोशी र थाहा नगरपालिका वडा नं. ८ इकाइ सभापति रामकुमार घलानको उपस्थिति रहेको थियो । विद्यालयमा ६६ जना विद्यार्थी अध्ययनरत छन् ।
