टाइफाइडविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन बागमती सरकार प्रतिवद्ध छ– मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा भोलिबाट सुभारम्भ हुने टाइफाइडविरुद्धको खोप अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । खोप अभियानको विषयमा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यका साथ प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आज हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले खोप अभियानलाई सफल पार्न सरोकारवाला निकायहरु, राजनीतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु, विद्यालय र सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने भन्दै सहयोगको अपिलसमेत गरे ।
मुख्यमन्त्री पाण्डेले खोप अभियान सफल पार्न सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा प्रतिनिधिहरु, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत आम जनमानसमा यसको प्रभावकारिताबारे जानकारी गराइनुपर्ने उल्लेख गरे ।
त्यस्तै स्वास्थ्यमन्त्री निमा लामाले खोप अभियानलाई पूर्ण रुपमा सफल पार्न स्वास्थ्य मन्त्रालय जिम्मेवार भएर अघि बढिरहेको बताउँदै यस अभियानमा सबै पक्षको आ–आफ्नो ठाउँबाट सहयोग आवश्यक रहेको बताए । उनले भोलिबाट सुरु हुने खोप अभियान अन्तरगत १५ महिनादेखि १५ बर्षसम्म उमेर समूहका लक्षित बालबालिकाको लागि पर्याप्त खोपको व्यवस्थापन भइसकेको र स्वास्थ्य जनशक्ति र स्वयम्सेवक अभियानमा खटाइने उल्लेख गरे ।
अभियान अन्तरगत बागमतीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई खोप प्रदान गरिने छ । अभियान सञ्चालनको लागि प्रदेशभर ६ हजार पाँच सय २० वटा केन्द्र निर्धारण गरिएकोमा ८० प्रतिशत भन्दा बढी केन्द्र विद्यालयमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए । खोप लगाउनको लागि ८ हजार ८ सय ५८ जना खोप कार्यकर्ता खटिनेछन् भने १७ हजार ९ सय ६३ जना स्वयंसेवक परिचालन हुने जनाइएको छ । खोप अभियान सकिएपछि पनि सरकारले टाइफाइड खोपलाई नियमित खोपको रुपमा समेट्ने जनाइएको छ । हरेक बच्चा जन्मिएको १५ महिना उमेर पुगेपछि लगाउने गरी टाइफाइड खोप नियमित गर्न लागिएको जनाइएको छ ।
खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाइएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामा टाइफाइडको संक्रमणदर बढी देखिएको पाइएकाले सरकारले १५ वर्षमुनिका बालबालिकालाई खोप अभियानमा समेटेको निर्देशक श्रेष्ठले जानकारी दिए । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
