बागमती प्रदेश सरकारले विभिन्न सरकारी कार्यालयको भवन निर्माण गर्ने

तु खबर संवाददाता
२०७९ आश्विन १, शनिबार १९:०७
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारले यसै चालु आर्थिक वर्षभित्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ मा करिब ५५ बिगाह सरकारी जग्गामा विभिन्न कार्यालय भवन निर्माण गर्ने भएको छ ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शनिबार बागमती प्रदेशसभाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उक्त स्थानमा मुख्यमन्त्रीलगायत विभिन्न सरकारी कार्यालयको भवन निर्माण गर्न लागिएको जानकारी गराएका हुन् । उनले उक्त सरकारी भवन निर्माणका लागि प्रथम चरणमा रु १ अर्ब १० करोड बजेट विनियोजित गरी छिट्टै कार्यान्वयन गर्ने तयारी गरेको बताए ।

प्रदेशसभाको स्थापना काल शुन्यबाट सुरु गरेर अहिले प्रदेश सरकारले ७० वटा विधेयक पारित गर्न सफल भएको र प्रदेशको १३ वटै जिल्लामा भौतिक पूर्वाधार (सडक, विद्युत, खानेपानी, पुल, सिचाईँ) र राष्ट्रिय गौरबको योजनालाई बजेट विनियोजित गरी कार्यान्वयनतर्फ अग्रसर रहेको उनको भनाई छ ।

मुख्यमन्त्री पाण्डेले सरकारको चालु आर्थिक वर्षभित्रको विशेष कार्यक्रम अन्तरगत चेपाङ र बनकरिया समुदायका नागरिकलाई आवास गृह, शैक्षिक छात्रवृत्ति र खानेपानीको बजेट विनियोजित गरी स्थलगत प्राविधिक सर्भे भइरहेको पनि उल्लेख गरे ।

उनले प्रदेशको १३ वटै जिल्लालाई जोड्ने सडक सञ्जालको निर्माण र प्रदेशभित्र ‘प्रत्येक घर खरको छानामुक्त’, ‘एक घर, एक धारा’ र ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए ।