महिलाहरुको आर्थिक अवस्था उकास्नुपर्छः मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आर्थिक क्षेत्रमा पनि महिलाको हैसियत बलियो बनाउनुपर्ने बताएका छन् ।
हेटौंडामा आजबाट सुरु भएको प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाण्डेले स्थानीय तहको व्यवस्थापछि महिला सशक्तीकरण राम्रो भएकोले अब महिलाको आर्थिक हैसियत उठाउनुपर्ने उल्लेख गरे ।
उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धनले महिलाको उपस्थिति घटेको भन्दै आर्थिक उपस्थितिलाई भने बलियो बनाउन सकिने बताए । “राजनीतिक तहमा महिलाको हैसियत बलियो छ, आर्थिक क्षेत्रमा पनि महिलाको हैसियत बलियो बनाउनु पर्छ, बागमती प्रदेशले महिलालाई आर्थिक रूपमा सशक्तीकरण गर्न कृषिमा आकर्षण बढाएको छ” उनले भने ।
कृषि उद्योगको विकास गर्न महिलालाई प्राथमिकता प्रोत्साहन गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले महिलालाई कृषिमा दूध, जडिबुटी, औषधिको उत्पादन बढाउन लागिपर्न आग्रह गरे । “बागमतीको महिलालाई आर्थिक हैसियतमा उच्च बनाउन प्रदेश सरकार तयार छ । त्यसकारण हामीले हाम्रो प्रदेशमा उद्योगको विकास गर्न उद्योग मन्त्रालय छुट्टै व्यवस्था गरेका छौँ ।” उनले भने ।
बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा मेला आयोजना गरिएको हो ।
