निर्वाचन आचारसंहिताको ६ विषयमा एमालेको असहमति

तु खबर संवाददाता
२०७८ चैत्र २४, बिहीबार १६:४१

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति जनाएको छ । आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो ।

यद्यपि आयोगले जारी गरेको आचारसंहिता र संविधान र कानुनसँग बाझिएका बाहेकका संहिताहरु पालना गर्ने एमालेले प्रतिवद्धता जनाएको छ । एमालेले उम्मेदवार मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था, सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्न लगाउने व्यवस्था, कुनै पनि तहको कार्यपालिका सदस्य, मन्त्री, प्रधानमन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारमा रोक लगाउने आचार संहिताको व्यवस्थामा असहमति जनाएको हो ।

त्यस्तै सामाजिक सञ्जालमार्फत मत माग्न नपाउने व्यवस्था कहिलेदेखि लागू हुने हो स्पष्ट पार्न एमालेले आग्रह गरेको छ । एमालेले उम्मेदवारले आफ्नो कार्यालयबाहेक अन्यत्र झण्डा र चुनाव चिह्न प्रयोग गर्न नपाउने, अनलाइन र वेवपेजबाट जुलुस तथा सभाको प्रचार थर्न नपाउने व्यवस्थाको पनि आशय खुलाउन माग गरेको छ ।