शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइने

तु खबर संवाददाता
२०७८ चैत्र २२, मंगलवार १५:५७

काठमाडौं । सरकारले अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिने भएको छ । मंगलबार परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म खोप अभियान संचालन गर्ने जानकारी दिएको छ ।

खोप अभियान संचालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको महाशाखाले जनाएको छ । सरकारले १५ महिनादेखि १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ ।

टाइफाइडविरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो । सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने छ । यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ ।