राप्रपा मकवानपुरमा शिवराम थापा चयन

तु खबर संवाददाता
२०७८ चैत्र १७, बिहीबार ०८:४३

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । राप्रपा मकवानपुरका पूर्व अध्यक्ष गुरुप्रसाद सापकोटा लगायत नेता कार्यकर्ताहरुले कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेपछि राप्रपा मकवानपुरको बुधबार बसेको विशेष बैठकबाट थापालाई अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष थापाले बुधबार नै पदभार समेत ग्रहण गरेका छन् । मंगलबार सापकोटासहित केही नेताहरुले पार्टीभित्र पछिल्लो समय सैद्धान्तिक बिचलन आएको, पार्टीमा बढ्दै गएको पूर्वाग्रही सोच, चिन्तन र संकीर्णताबाट पार्टी अगाडि बढ्न नसक्ने भन्दै पार्टीबाट राजिनामा दिएका थिए । यस्तै, राप्रपा मकवानपुरले चैत्र २७ गते बृहत भेला गरेर आमसभा गर्ने कार्यक्रम रहेको छ ।