पल शाहले दिए जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार १६:५२
file-photo

पोखरा । नाबालिका जवरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएको उच्च अदालत पोखराले जनाएको छ ।

उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिएको जानकारी अनुसार, जिल्ला अदालत तनहुँले गरेको आदेश बेरीतको रहेको भन्दै शाहले तारेखमा रिहा गर्न माग गरेका हुन् । अब उच्च अदालत पोखरामा जिल्ला अदालत तनहुँले गरेको आदेश ठीक हो वा होइन भन्ने विषयमा बहस हुने आचार्यले जानकारी दिए ।

म्युजिक भिडियो सुटिङका क्रममा आफूलाई फकाइफुलाइ पटकपटक जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिग गायिकाले दिएको उजुरीको आधारमा पक्राउ परेका अभिनेता शाहलाई जिल्ला अदालत तनहुँले गत चैत्र १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।