अवैध लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १६:०९

नवलपरासी (पूर्व) । नवलपरासीको देवचुली नगरपालिका–१६ सिर्जना चोकबाट करिब ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६३ वर्षीया सोम माया नेपाली र ४५ वर्षीया मनकला सार्की रहेका छन् ।
सोम माया नेपालीको घरमा अवैध रुपमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला परेपछि निजहरुलाई पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले कपिलवस्तु नगरपालिका–११ जहदीस्थित सडकबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–८ बस्ने २८ वर्षीय नारायण गाहा मगर रहेका छन् । शनिबार लु १२ प ४७४६ नम्वरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, दाङको घोराही उपमहानगरपालिका–१४ नयाँ बजारबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही उपमहानगरपालिका–१४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रा ३ प ३८५० नम्वरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।