एक महिलालाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र १२, शनिबार १०:५०

पर्सा । पर्साको वीरगंज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंजको श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र ५० वर्षीय हवारी साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको कलैयास्थित माइतीघर आउने क्रममा मोटरसाइकलमा आएका उनीहरुले एसिड प्रहार गरेका थिए । प्रहरीका अनुसार, एसिड प्रहार भएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटी गई घाइते पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको थियो ।

सो अस्पतालबाट उनलाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा जेठाजु रामबाबु साह र ससुरा ५० वर्षीय हवारी साह संलग्न रहेको बयान दिएकी छन् । दुबै जनालाई वीरगंजबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।