कांग्रेस भीमफेदी ५ को वडा कार्यालय स्थापना
मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका ५ नम्वर वडा समितिले सुपिङमा वडा कार्यालय स्थापना गरेको छ । कांग्रेसका नेता जयराम लामिछानेको प्रमुख आतिथ्यतामा सोमबार वडा कार्यालय विधिवत रुपमा स्थापना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता लामिछानेले कम्युनिष्टहरुले लामो समयसम्म जनतालाई भ्रममा राखेको बताउँदै अब जनता भ्रममुक्त हुनुपर्ने बताए । आम जनताको हित र टोलस्तरसम्म विकासको लहर पुर्याउन अब जनताले कांग्रेसलाई नेतृत्व तहसम्म पुर्याउनुपर्ने उनले बताए । कांग्रेस लोकतन्त्र, समाजवाद र राष्ट्रियतामाथि विश्वास गर्ने पार्टी भएको भन्दै अवसर पाएको खण्डमा कांग्रेसले विगतमा पनि आम जनतालाई समान अवसरको वितरण गरेको लामिछानेले बताए ।
उनले स्थानीय निर्वाचन नजिकिँदै गएकोले अब कांग्रेसले आफ्नो सक्रियता बढाउनुपर्नेमा जोड दिए । कम्युनिष्टहरुले अन्तिम समयमा भ्रम छर्ने र चुनावी नतिजा आफ्नो हातमा पारेपछि जनहित विपरितका कृयाकलाप गर्ने गरेको उनको भनाई छ । उनले कांग्रेस पनि जनताप्रति अझै जवाफदेही भएर लाग्नुपर्ने सुझाव दिए ।
त्यस्तै कार्यक्रमका सभाध्यक्ष एवम् सोही वडाका सभापति अंकित पुडासैनीले वडा कार्यालयको स्थापना भएपछि पार्टीका गतिविधि संञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले आफ्नो क्षेत्रमा कांग्रेसलाई सबल, सक्षम र जनताप्रति उत्तरदायी बनाउने प्रतिवद्धता जनाए । आम वडावासीको हितको कार्यमा कांग्रेसले सक्रिय ढंगबाट काम गर्नेसमेत पुडासैनीले बताए ।

कार्यक्रममा कांग्रेसका जिल्लास्तरका नेता आनन्दराम पराजुली, जिल्ला सचिव इश्वर पाठक, सह सचिव इन्दिरा न्यौपाने नेताहरु अर्जुन प्रसाद पुडासैनी, संगीता राना मगर, गोरीमाया लामा, यतिराज सापकोटा, मोमलाल दोङ्, भीमफेदी गाउँपालिका सभापति संजिव श्रेष्ठ, उपसभापति जब्बरसिंह वाइवालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा समितिका पदाधिकारीहरु सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु तथा क्रियाशील सदस्यहरुको बाक्लो संख्यामा उपस्थिति रहेको थियो ।
