बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र ७, सोमबार १५:३०

चितवन । १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनबाट एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको माडी–५ बस्ने ३७ वर्षीय सुरज लामिछाने रहेका छन् । पक्राउ परेका लामिछाने माडी नगरपालिका–१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक हुन् ।

लामिछानेले गत फागुन २९ गते कक्षा ९ मा अध्ययनरत बालिकालाई यौन दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी परेपछि निजलाई पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको छ । नेपाल शिक्षक संघ माडी इकाइले भने पक्राउ परेका शिक्षकलाई अशोभनीय र अपाच्य व्यवहार गरिएको बताएको छ । नेपाल शिक्षक संघ माडी नगर समितिका अध्यक्ष विश्वनाथ घिमिरेले आइतबार एक विज्ञप्ति जारी गरी आरोपित शिक्षकलाई कारबाहीको माग गर्ने क्रममा शिक्षकलाई अपमानित र दुर्व्यवहार गरिएको बताएका हुन् ।