स्थानीय तह निर्वाचन : बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार, उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो ।
यस्तै, आयोगले उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर बैशाख १५ गते उम्मेदवारको नाम सार्वजनिक गरिने जनाएको छ । यसैगरी, बैशाख १६ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र बैशाख १७ गते उम्मेवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
बैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात बैशाख २७ गते मध्यरातदेखि मौन अवधि लागू हुनेछ ।
