मकवानपुरमा ९० बिगाह जग्गामा लगाइएको अफिम खेती नष्ट
मकवानपुर । मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले अफिम खेती नष्ट गर्ने अभियानअन्तर्गत गत फागुन ३० गतेदेखि बुधबारसम्म जिल्लाको विभिन्न स्थानमा ९० बिगाह जग्गामा लगाइएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो ।

प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ४, ५, ७, ९ र कैलाश गाउँपालिका वडा नम्वर ४, ७, लगायतको क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरेको हो । प्रहरीले मंगलबार राक्सिराङ गाउँपालिका–४ को चौकिटार, मादल सिंह र कैलाश गाउँपालिका–४ को बिलौनी, कैलाश–७ को बिलासी, ताम्लाङ र कैलाश– ८ को रुपलाङ, डुडलुङलगायतको क्षेत्रमा ३५ बिगाहमा लगाइएको अफिम खेती नष्ट गरेको थियो ।
