भीरबाट लडेर मकवानपुरमा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ माघ २०,आईतवार १६:००
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ४, जैसिङतालस्थित सचत्री सडकखण्डमा रहेको करङभीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्वर ३, ठुलोदेवली बस्ने वर्ष ४२ को राज कपुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, शनिबार राति ९ बजेको समयमा उक्त बाटोबाट अन्दाजी ७० मिटर तल भिरमा खस्न गई उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा आज बिहान सवा १ बजेको समयमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

मृतक चौधरीको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।