बागमती प्रदेशसभा बैठक : प्रदेश सरकारको गतिविधिमाथि छलफल
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको गतिविधिमाथि छलफल भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्तापक्षका सांसद्हरुले सरकारको गतिविधिमाथि आ–आफ्नो धारणा व्यक्त गरेका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद्हरुले सरकारले कार्यकर्ता भर्तिको तयारी सुरु गरेको र विधि पद्धति विपरित अघिल्ला सरकारले नियुक्त गरेको अस्पताल अध्यक्ष तथा विभिन्न संस्थाका पदाधिकारीहरुलाई दवाब दिएको आरोप लगाएका थिए । साथै उनीहरुले अघिल्ला सरकारले ल्याएको सबै योजनाहरु कटौती गरेर वर्तमान मुख्यमन्त्री पार्टी निर्माणको लागि ५ लाखका दरले कार्यकर्ताहरुलाई योजना बाँड्ने काम गरेको आरोप लगाएका थिए ।
यस्तै, प्रतिपक्ष दल विवेकशील साझा पार्टी र नेमकीपाका संसद्हरुले प्रदेश राजधानीको विषयमा समिक्षा गर्नुपर्ने र सरकार तथा सदनको उचित व्यवस्थापन गरेर चलायमान बनाउन आग्रह गरे । उनीहरुले जनताको सेवा सुविधाको क्षेत्रमा काम गर्न सरकारलाई सुझाव दिए ।
यसैगरी, सत्तापक्षका संसद्हरुले विगतको ४ वर्षसम्म शासन गर्ने दलहरुले गर्न नसकेको काम वर्तमान सरकारले गरेको भन्दै प्रशंसा गरे । उनीहरुले विगत ४ वर्षसम्म सरकारको नेतृत्व गरेकाहरुले केही जनताको पक्षमा काम गर्न नसकेका भन्दै वर्तमान सरकारले केही हदसम्म भएपनि प्रयास गरेको बताएका थिए ।
उनीहरुले ३ महिना नेतृत्व गर्ने र ४ वर्ष नेतृत्वमा रहेकाहरुबीच तत्काल तुलना गर्न नहुन बताउँदै वर्तमान सरकारलाई विगतको सरकारले जस्तो गल्ति गर्ने छुट नरहेकोले जनताको पक्षमा गम्भिर भएर काम गर्न आग्रह गरेका थिए ।
बैठकमा सत्तापक्ष नेकपा एकीकृत समाजवादी पार्टीका डा. राजेन्द्रमान श्रेष्ठ, मुनु सिग्देल, लक्ष्मण लम्साल, नेकपा माओवादी केन्द्रका युवराज दुलाल, ओबहादुर ग्लान, नेपाली कांग्रेसका नुच्छेनारायण श्रेष्ठ, भिमसेन खत्री, जिवन डंगोल, विजया केसी श्रेष्ठ, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, कैलाशप्रसाद ढुंगल, केशवराज पाण्डे, सरेश नेपाल, दावा दोर्जे लामा, दिपक निरौला, प्रतिपक्ष दल विवेकशिल साझा पार्टीका रमेश पौड्याल, शोभा शाक्य, नेमकीपाका सुरेन्द्रराज गोर्साइ र राप्रपाकी रिना गुरुङले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
करिब ३ महिनादेखि संचालन हुन नसकेको प्रदेशसभा बैठक आइतबारदेखि सुरु भई आज सकिएको छ । प्रदेशसभाको बैठक आगामी चैत्र ८ गतेसम्मको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
