हेटौंडामा कांग्रेस प्रवेशको लहर
मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मकवानपुरमा कांग्रेस प्रवेश गर्नेको लहर बढ्दै गएको छ । एक साता अघि एक दर्जन युवाहरु कांग्रेस प्रवेश गरेको हेटौंडा–८ कमानेमा शनिबार ७५ जना युवा कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिबार हेटौंडा–८ नम्वर वडा समितिद्वारा आयोजित कांग्रेस मकवानपुरका नवनिर्वाचित कार्य समितिलाई स्वागत तथा सम्मान एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले टिका र खादा लगाएर पार्टी स्वागत गरेका थिए । स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति लामाले कांग्रेसमा प्रवेश गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको बताए । उनले संगठनलाई सुदृढ बनाउन चुनौती थपिएको र त्यस चुनौतीको सामना गर्नु सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
कांग्रेस हेटौंडा–८ वडा सभापति भूपेन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका उस–सभापति आनन्द कठायत, कांग्रेस मकवानपुरका सचिव भिमसेन महत, सह–सचिव इन्दिरा न्यौपाने, कांग्रेस मकवानपुरका प्रदेश १ –ख) सभापति राजेश बानियाँ, कांग्रेस हेटौंडा–८ सचिव दुर्गा अधिकारी, उमेश थापा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
