लागूऔषध गाँजासहित दुई जना पक्राउ
धादिङ । धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलाबाट लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका–१ बस्ने २४ वर्षीय लिमु रजक रहेका छन् ।
मंगलबार साँझ खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले चेकचाँज गर्ने क्रममा ९ किलो लागूऔषध गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो ।
यस्तै, पर्साको पटेर्वासुगौली गाउँपालिका–३ स्थित सडकबाट बुधबार बिहान प्रहरीले २५ किलोग्राम गाँजा बरामद गरेको छ । उक्त लागूऔषध २ जना अपरिचित व्यक्तिहरुले भारततर्फ लैजाँदै गरेका थिए । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ उनीहरु गाँजा छोडेर फरार भएका थिए । हाल फरार उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
