विद्युतीय काठको पोल जिर्ण अवस्थामा

रुद्रबहादुर खड्का, सिन्धुली
२०७८ फाल्गुन २२, आईतवार १७:४३

मकवानपुर । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्वर ९, भीमान कोरुङखोलास्थित हाल विद्युतीय काठको पोल मक्किएर जिर्ण अवस्थामा रहेको छ । झण्डै २५ वर्षदेखि रहेको उक्त विद्युतीय पोल मक्किएर स्थानीयको घर गोठतर्फ ढल्किएको छ ।

जुनसुकै समयमा पनि ढल्न सक्ने अवस्थामा रहेको उक्त पोल फेर्नको लागि फलामको पोल ल्याएपनि फेर्न भने सकेको छैन । २, ३ वर्ष भइसक्दा पनि पुरानो काठको पोल हटाई नयाँ पोल फेर्न सम्बन्धित निकायहरुले चासो देखाएको छैन । पोल ढलेर धनजनको मात्रै होइन मानवीय क्षति पनि हुने सम्भावना बढेको स्थानीय वासिन्दा गणेशबहादुर बोगटीले बताए । उनले भने, ‘स्थानीयहरुको घर र गोठमाथि तार लतरिएको अवस्थामा छ । जुनसुकै अवस्थामा पनि मानवीय र धनजनको क्षति हुने सम्भावना छ ।’

स्थानीय वासिन्दाहरुबीच नै विवाद भएका कारण पनि उक्त स्थानमा नयाँ विद्युतीय पोल राख्न अपठेरो परेको उनले बताए । उनी भन्छन्, ‘हाल पुरानै ठाउँमा विद्युतीय पोल राख्ने की नयाँ ठाउँमा राख्ने भन्ने विषयमा विवाद भइरहेको छ । कसैले जग्गा नदिने त कसैलाई पाएक नपर्ने भएका कारण स्थानीयमा विवाद भएको हो ।’

उक्त समस्याको सामाधान गर्न स्थानीय जनप्रतिनिधि,  सरकारवाला निकायले  ध्यान  नदिएको  उनले बताए ।