कांग्रेस चितवनको नयाँ नेतृत्वको लागि आज मतदान
चितवन । नेपाली कांग्रेस चितवनको चौथो जिल्ला अधिवेशन अन्तरगत आज मतदान प्रकृया सुरु भएको छ । बिहीबारबाट सुरु भएको अधिवेशनअन्तरगत आज नारायणीकला मन्दिरमा मतदान प्रकृया सुरु भएको निर्वाचन अधिकृत ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ । नेतृत्वका लागि संस्थापन पक्ष र इतर समूह गरी ५ जना उमेदवारी दिएका छन् । सभापति शेरबहादुर देउवा समूहबाट १ जना र शेखर कोइराला समूहबाट ४ जनाले मनोनयन दर्ता गरेका छन् ।
संस्थापन पक्षबाट मिलनबाबु श्रेष्ठ र संस्थापनइतरबाट उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र कैलाश कोइरालाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, पार्टीको उपसभापतिमा २ पदका लागि १५ जना, सचिवमा २ पदका लागि ८ र सहसचिव २ पदका लागि १० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । मतदानमा २ हजार ९४४ प्रतिनिधिले सहभागि हुनेछन् ।
