राप्रपाले केन्द्रीय समितिको संख्या बढायो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्य समितिको संख्या बढाएर २५१ सदस्य बनाएको छ । काठमाडौंमा फागुन १८ र १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले १९९ सदस्यबाट बढाएर २५१ सदस्यीय बनाएको हो ।
बैठकले आवश्यकता अनुसार विभागहरुको संख्या थप गर्ने निर्णय गरेको हो । बैठकले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । बैठकले अध्यक्ष लिङ्देनको समसामयिक राजनीतिक परिस्थिति र भावी कार्ययोजनासम्बन्धी राजनीतिक प्रतिवेदन, सचिवालयका प्रमुख उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री भुवन पाठकको स्थानीय तहको निर्वाचनको तयारीसम्बन्धी प्रतिवेदनलाई पारित गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यस्तै बैठकले संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्बन्धी व्याख्यात्मक टिप्पणी कानुनी व्यवस्था विपरित भएको निष्कर्ष निकालेको छ । बैठकले जिल्ला र सबै तहका विवादित वा निष्क्रिय कार्य समितिहरुका सम्बन्धमा आवश्यक निर्णय लिन उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा, महामन्त्री राजेन्द्र गुरुङ र केन्द्रीय सदस्य सिर्जना रानी वर्मा सदस्य रहेको समिति गठन गरिएको छ । उक्त समितिलाई २०७८ चैत्र ७ गतेभित्र कार्य सम्पन्न गर्ने समयसीमा दिइएको छ ।
