संसद भवन अगाडि शंकास्पद वस्तु राख्ने महत पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन १९, बिहीबार १५:४०
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा सोमबार शंकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको घटनामा संलग्न रहेको आरोपमा प्रहरी एक जनलााई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चावाहिल बस्ने काभ्रेपलाञ्चोक भुम्लो गाउँपालिका–२ सिमथली घर भएका २१ वर्षीय सुवास महत रहेका छन् ।

जनमानसमा भय त्रास सिर्जना गरी आतंकित बनाउने उद्देश्यले उक्त ठाउँमा शंकास्पद वस्तु राखेको घटनामा संलग्न उनलाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले मंगलबार काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । उनी अनेरास्वबियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष रहेको खुल्न आएको छ । प्रहरीले उनको साथबाट घटनामा प्रयोग भएको बा.प्र.०२–०३०–प ७०८५ नम्बरको मोटरसाईकल, हेल्मेट, ज्याकेट र विभिन्न कम्पनीका ४ थान मोबाइल बरामद गरी आवह्यक अनुसन्धान गरी रहेको छ ।