बागमती प्रदेश : सांसद विकास कोष कार्यान्वयन गर्न सिफारिस
मकवानपुर । बागमती प्रदेश सरकारले सांसद विकास कोष कार्यान्वयन गर्न सिफारिस गरेको छ । प्रदेशको बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सांसद विकास कोष कार्यान्वयन गर्न सिफारिस गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको नाममा सांसदको तजबिजमा खर्च गर्ने बजेट विनियोजन गरेको थियो ।
प्रदेश सरकारले प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसद्लाई १ करोड गरी कुल २ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमलाई कार्यान्वयन गर्न बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।
उनका अनुसार, प्रदेश सरकारले प्रदेश पूर्वाधार साझेदारको बजेट ५० प्रतिशत भौतिक पूर्वाधार, ३० प्रतिशत शिक्षा र २० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यकारी नियम बनाएको छ । साथै, मन्त्रिपरिषद् बैठकले प्रदेशको २५ वटा स्थानीय तहबाट कार्यान्वयन भइरहेका समपूरक योजनालाई पूर्णता दिन १२ करोड ४८ लाख ३७ हजार रुपैयाँ रकम भुक्तानी दिने निर्णय गरेको छ ।
