कांग्रेस मकवानपुरः आनन्दरामको घमण्डले संस्थापन पक्षलाई क्षति

तु खबर संवाददाता
२०७८ फाल्गुन १८, बुधबार १९:४७
file-photo

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको घमण्डले संस्थापन पक्षलाई क्षति पुगेको छ । जिल्ला अधिवेशनमा सभापतिका आकांक्षी पराजुलीले आफुबाहेक अरुको नाममा सहमति हुन नदिंदा संस्थापन पक्षलाई मकवानपुरमा क्षति पुगेको हो ।

जिल्ला अधिवेशनको बुधबार विहान प्राप्त मत परिणाम अनुसार पदाधिकारीमा दुई उपसभापति, दुई सचिव र एक सह–सचिव संस्थापक इतरका जयराम लामिछाने समूहले जितेको छ । सहसचिवमा संस्थापनबाट सभापति बुद्ध लामा पक्षका ताराचन्द्र बजगाई विजयी हुँदा पराजुली पक्ष शुन्य भएको हो ।

अधिवेशनका क्रममा संस्थापन पक्षबाट कार्यवाहक जिल्ला सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा र निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली आकांक्षी थिए । आफ्नो पक्षमा ३ जना आकांक्षी भएपछि पार्टीमा लामो त्याग गरेका लामिछानेलाई सभापति र दुइलाई उपसभापति बनाएर जाने प्रस्ताव प्रदेश सभापति इन्द्रबहादुर बानियाँले अघि सारेका थिए । यसलाई सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले समेत समर्थन गरेकी थिइन् । ३ जनामध्ये सभापतिका आकांक्षी लामिछाने जस्तो लामो त्याग भएका सादगी नेतालाई सभापति बनाउँदा उपसभापति बन्न लामा सहमत भएका थिए । तर बानियाँ र उपाध्यायको सहमतिको प्रस्तावलाई लत्याउँदै आफु अघि बढिसकेको भन्दै केही अपरिपक्व नेता भनाउँदाहरुको उक्साहटमा पराजुलीले आफु नै उम्मेदवार बन्ने अडान राखे ।

सहमति र संस्थापन पक्षको एकताका लागि लामाले आफुले अर्को अघिवेशनमासमेत सभापतिको उम्मेदवार नबनी पराजुलीलाई नै सहयोग प्रतिवद्धता जनाएर पराजुली र आफु उपसभापति बन्ने प्रस्ताव अघि बढाउन आग्रह गरेका थिए । तर, सुुरु देखि नै ‘मेरो ब्याक गियर छैन’ भन्दै हिडेका पराजुलीले पार्टी सह–महामन्त्री डीना र प्रदेश सभापति बानियाँको सहमतिको प्रस्तावलाई अटेर गर्दै ‘चेन अफ कमाण्ड’ तोडेर उम्मेदवारी दिए । त्यसको परिणामस्वरुप पराजुली आफु त पराजित भए नै आफ्नो पक्षमा लागेका नेताहरुको भविष्यलाई समेत अन्यौल बनाएको कांग्रेसजनको भनाई छ । अधिवेशनमा संस्थापक पक्षका बुद्ध लामा सबैभन्दा बढी मत ल्याउन सफल भए भने पराजुली संस्थापक इतरका जयराम लामिछाने भन्दा १४ मत मात्रै बढि ल्याएर दोस्रो भए ।

सहमति नजुटेपछि संस्थापन पक्षले पहिलो चरणमा जसको बढी मत आउँछ उसलाई सघाउने भद्र सहमति गराएको थियो । तर त्यो सहमति पनि पराजुलीले नमान्ने बताएपछि उनलाई पहिलो चरणमा सहयोग गरेका सह–महामन्त्री डीना र संघीय सभापति दामोदर खनालले साथ छोड्ने चेतावनी दिए । पहिलो चरणमा नै विष्णु लामिछानेको उम्मेदवारी भए सोच्न सक्ने बताइसकेको संस्थापन इतर पक्षले समेत लामालाई सहयोग गर्ने देखेपछि गलेका पराजुलीले दोस्रो चरणमा बुद्ध लामालाई समर्थन गर्न बाध्य भए । त्यसपछि लामा जिल्ला सभापति निर्वाचित भए ।

‘सह–महामन्त्री डीना र प्रदेश सभापति बानियाँको सहमतिको प्रस्ताव मानेको भए पराजुली उपसभापति पनि हुनुहुन्थ्यो र उहाँको पछि लागेका नेता कार्यकर्ताको पनि सुरक्षा हुन्थ्यो ।’–संस्थापन पक्षका एक नेताले भने–‘केही वडा अध्यक्ष र पार्टीका नेता भनाउँदाहरुले उहाँलाई उचालेर पछार्ने काम गरे, संस्थापन पक्षलाई पनि क्षति पुर्याए ।’

नगरसभापति हुँदादेखि नै पराजुलीलाई बानियाँले अघि बढाएका थिए । तर सहमतिका लागि बानियाँ र उपाध्यायले राखेको प्रस्तावलाई लत्याएर पराजुलीले दम्भ देखाउनु नै संस्थापन पक्षको हारको कारण भएको इमान्दार कांग्रेस कार्यकर्ताहरुको भनाई छ । हारपछि पराजुली पक्ष दोषारोपणमा उत्रिएको छ भने लामा सबैलाई मिलाएर पार्टी अघि बढ्ने योजना तयार गर्न थालेका छन् ।