कमल थापाका भतिजाले लिए लिङ्देन पार्टीको शपथ
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । गत मंसिरमा भएको महाधिवेशनमा सदस्यमा निर्वाचित भएका अभिषेकले तीन महिनापछि बुधबार शपथ लिएका हुन् ।
कमल थापा भने राप्रपा परित्याग गरेर राप्रपा नेपालको जिम्मेवारी सम्हालेका छन् । थापाले महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफल ‘नचलाएको’ भन्दै राप्रपा परित्याग गरेका थिए । राप्रपा नेपालमा नगई अभिषेक राप्रपामा रहेका छन् । कमलकी छोरी प्रतिष्ठा थापा रायमाझी पनि राप्रपामै छिन् । गत महाधिवेशनबाट केन्द्रीय सदस्य प्रतिष्ठा निर्वाचित भएकी हुन् ।
