बुद्धचोकस्थित एक होटलमा महिलाको शव फेला
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउस’ मा एक जनाको शव फेला परेको छ । उक्त होटलको एक कोठामा आज (मंगलबार) बिहान अन्दाजी ३५ वर्षीया एक महिनाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नंको कोठा बुक गरेर बसेका थिए । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठामा छिरेका कर्मचारीले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोमबार बेलुकासम्म महिला र एक पुरुषसँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन । महिलाको शरीरमा चोट पटक लागेको देखिएको र सँगै रहेका पुरुष फरार रहेका कारण महिलाको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती महिला बसेको कोठामा सुमित्रा तामाङ लेखिएको परिचय पत्र फेला परेको भएपनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।
