कांग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल
काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्र पोख्रेल निर्वाचित भएका छन् । अर्का उम्मेदवार उज्ज्वल बराललाई पराजित गर्दै पोख्रेल सभापति पदमा निर्वाचित भएका हुन् । पोख्रेलले ८८५ मत प्राप्त गर्दा बरालले ४७७ मत प्राप्त गरेका थिए ।
जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएकामा आइतबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त प्राप्त गर्न नसकेपछि आज पुनः मतदान गरिएको थियो । पुनः मतदान गरिँदा एक हजार ३७१ मत खसेको थियो । ९ मत भने बदर भएको थियो । यसअघि सभापति पदका लागि आइतबार भएको मतदानमा पोखरेलले ४८३, बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए ।
यस्तै उपसभापति दुई, सचिव दुई, सहसचिव दुई, जनजाति आदिवासी सदस्य चार, दलित महिला सदस्य एक, दलित सदस्य एक, सदस्य अल्पसङ्ख्यक वा अपाङ्गता भएको सदस्य एक, हरेक स्थानीय तहबाट महिला र खुल्ला सदस्य पदका लागि भएको मतदानको मत गणना आजै रातिदेखि सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
