मकवानपुरमा बन्दकर्ताद्वारा गाडीमा आगजनी र तोडफोड

तु खबर संवाददाता
२०७८ फाल्गुन १६, सोमबार १८:२०

मकवानपुर । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा गरिएको बन्दको केही प्रभाब मकवानपुरमा पनि परेको छ । एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुई वटा मोर्चाले आज (सोमबार) देशभर बन्दको आह्वान गरेको थियो ।

बन्दकर्ताले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगको प्रदेश ३–०३–००१ ख ०१७५ नम्वरको गाडीमा सोमबार बिहान आगजनी गरेको छ । मोटरसाइकलमा आएको एक समूहले रिद्धिसिद्धि सिमेन्टको बल्करमा पेट्रोल छर्केर आगजनी गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त जयश्वर रिमालले जानकारी दिए ।

यस्तै, बन्दकर्ताहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, बस्तीपुरमा ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाइएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनका अनुसार, आज लामो दुरीको सवारीसाधन, सार्वजनिक यातायात, पसल, विद्यालय सबै बन्द थियो ।