कांग्रेस मकवानपुर अधिवेशन : मतदान जारी
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत कांग्रेस मकवानपुरको नयाँ कार्य समितिको लागि सोमबार मतदान जारी छ । सोमबार निर्धारित समयभन्दा केही घण्टा ढिलो गरी सुरु भएको मतदान हाल जारी रहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ डल्फिन चौरमा मतदानका लागि केन्द्र निर्माण गरिएको छ । मतदान बिहान ८ बजेदेखि गर्ने भनिएपनि दिउँसो १ बजेबाट मात्रै सुरु भएको थियो । मतदानस्थलको व्यवस्थापन र बन्दका कारण मतदान निर्धारित समयभन्दा केही घण्टा ढिला सुरु भएको निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिए ।
निर्वाचनमा कांग्रेस मकवानपुरका १०२ वटा वडाका वडा सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति एवम् प्रतिनिधि र बुथ प्रतिनिधिहरुको सहभागीता रहेको निर्वाचन अधिकृत सुवेदीले बताए ।

निर्वाचनामा एक सभापति पदका लागि ३ जना, २ जना उपसभापति पदका लागि ७ जना, २ जना सचिव पदका लागि ६ जना र २ जना सहसचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । सभापति पदमा हालका सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका निर्वतमान सभापति आनन्दराम पराजुली र जयराम लामिछानेले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा लामा र पराजुली संस्थापन पक्ष निकट हुन् भने लामिछाने संस्थापन इतर पक्षका हुन् ।
