मकवानपुरलाई कांग्रेसमय बनाउन मेरो उम्मेदवारी: कोइराला

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १८:५९

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले मकवानपुर अधिवेशन अन्तरगत भोलि हुने निर्वाचनमा सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । कोइरालाले सभापति पदका उम्मेदवार बुद्ध लामाको प्यानलबाट आज उम्मेदवारी दर्ता गराएका हुन् । २०३७ सालदेखि कांग्रेस रहेर राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका उनले मकवानपुरलाई कांग्रेसमय बनाउने अभियानलाई पूर्णता दिन आफुले उम्मेदवारी दिएको बताए । १० बर्षको उमेरमा नेपाल विद्यार्थी संघमा आवद्ध भई पार्टीमा निरन्तर लागिपरेका उनले हालसम्म विभिन्न पदमा रहेर काम गरेको अनुभव संगालेका छन् ।

२०२७ कार्तिक ३ गते सिन्धुली जिल्लामा बुवा रमेश कोइराला र आमा मञ्जरा कोइरालाको कोखबाट जन्मिएका उनकोे बाल्यकाल उतै बित्यो । स्थानीय कुशेश्वर माद्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दै गर्दा उनी नेवि संघमा आवद्ध भएका थिए । त्यतिबेला उनको उमेर १० बर्षको थियो । २०३६ सालको आन्दोलन नजिकबाट नियालेपछि कोइरालालाई राजनीतिक चासो बढ्दै गयो । परिवारका अन्य सदस्य पनि प्रजातन्त्रको पक्षधर भएकै कारण उनी सानैदेखि राजनीतिक चिन्तन एवम् ममन् गर्न सक्दथे । राजनीतिबाटै समाज रुपान्तरणको लागि केही गर्न सकिन्छ भन्ने सोचाइले उनलाई निरन्तर प्रेरणा दिइरह्यो ।

विद्यार्थी हकहितका लागि केही गर्नुपर्छ भन्ने धारणा बोकेर अघि बढ्दै गर्दा उनी २०४६ सालमा नेवि संघ आरआर क्याम्पस रात्री समूहको सचिव भए । त्यसपछि  क्याम्पसकै कार्यबाहक सचिवको जिम्मेवारी पनि सम्हाले । ०४६ पछि कोइराला परिवार हेटौंडा आयो । स्व. विपीको आदर्शबाट प्रभावित उनी राजनीतिमा निरन्तर सक्रिय रहँदै गर्दा ०५१ मा कांग्रेसको तत्कालिन हेटौंडा नगरपालिका वडा नम्वर ४ को सह–सचिव, ०५२ मा सचिव र ०५७ मा नगर सचिव भए ।

२०६१ मा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर ‘कु’ गरेका थिए । त्यतिबेला तानाशाही प्रवृत्ति र निरंकुश राजतन्त्र तथा केन्द्रीकृत शासन व्यवस्थाकाविरुद्ध विभिन्न चरणमा आन्दोलन चर्किएको थियो । सो आन्दोलन र संघर्षका कार्यक्रममा पनि कोइराला अग्रभागमा थिए । ०६२ मा मकवानपुरको तत्कालिन क्षेत्र नम्वर २ को निर्विरोध सभापति चुनिएका उनी ०६७ मा तत्कालिन क्षेत्र नम्वर ३ को सभापति निर्वाचित भए ।

कोइरालाले ०४६ को आन्दोलनमा नै सिन्धुलीको ५ वटा गाविसको मोर्चा सम्हालेका थिए । ०६२/०६३ को १९ दिने जनआन्दोलनमा उनले काठमाडौँ केन्द्रीत आन्दोलनको मोर्चामा सह–कमाण्डर भएर जिम्मेवारी सम्हाले । त्यतिबेला कमाण्डर शंसाक कोइराला थिए भने आन्दोलनमा उनीसँगै जगदिश्वरनरसिं केसी, टेकप्रसाद गुरुङलगायत अग्रभागमा थिए । हाल विपी विचार समूह मकवानपुरको कार्यबाहक सभापति समेत रहेका कोइराला विपीको आदर्श र सिद्धान्तलाई पछ्याइरहेका छन् ।

१९ दिने जनआन्दोलनमै १५ दिनसम्म काठमाडौँको मोर्चा सम्हालेका उनले बाँकी ४ दिन मकवानपुरको मोर्चा सम्हाले । त्यतिबेला आन्दोलन चर्काएर तत्कालिन सत्ताको विरोध गरेको आरोपमा उनलाई प्रहरीले पटक–पटक गिरफ्तारसमेत गरेको थियो । ‘त्यतिबेला म अग्रभागमा रहेर आन्दोलनमा सहभागि थिएँ । मसंगै अन्य केही साथीहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो । आगामी दिनमा आन्दोलनमा सहभागि नहुने सर्तमा मात्रै रिहाई गर्छौँ भन्दै प्रहरीले काजग गर्न दबाब दिएको थियो । म कुनै कागजी सम्झौता बिना नै हिरासतमुक्त भएँ र परिवर्तनका लागि गरिएको विभिन्न आन्दोलनमा पुनः सहभागि हुँदै गएँ ।’ उनले भने ।

राजनीतिसंगै कोइरालाकोे सामाजिक क्षेत्रमा पनि उत्तीकै संलग्नता छ । उनले हेटौंडा क्याम्पसको व्यवस्थापकीय टिममा रहेर काम गरे । नेपाल रेडक्रश सोसाइटीको सल्लाहकार, पशुपति मन्दिर व्यवस्थापन समितिको सल्लाहकार, रोशनी पुस्तकालयको सल्लाहकार भएर आफुलाई सामाजिक कार्यमा पनि उपस्थित गराउँदै आए ।

आफ्नोे चाहाना कांग्रेस मकवानपुरको कुशल एवम् व्यवस्थित संगठन विस्तार गर्ने रहेको उनी बताउँछन् । संगठनलाई चुस्त दुरुस्त बनाउनुको साथै पार्टी सचिवालयलाई समयअनुसार प्रविधिमैत्री बनाउँदै लैजाने, गुट उपगुटको राजनीतिको अन्त्यका लागि पहल गर्दै पार्टी र कार्यकर्ताप्रति इमान्दार नेतृत्व चयन गर्ने काममा आफु सदैव लागिरहने उनी बताउँछन् । यीनै विषयलाई आधार बनाएर आफ्नो खुल्ला सचिव पदमा उम्मेदवारी रहेको कोइरालाको भनाई छ ।

जिल्लालाई कांग्रेसमय बनाउने, नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम संचालन गरी कांग्रेसका उम्मेदवार जिताउने वातावरण तयार गर्ने, नीति विधि र पद्धती अन्तरगत पार्टी संचालन गर्ने र कांग्रेसको सिद्धान्त एवम् गतिविधिलाई जनमानससम्म पुर्याउने उनको चाहाना छ । प्रशिक्षण कार्यलाई वडा र टोल समितिसम्म विस्तार गर्ने उनको योजना छ ।