देशभर थपिए १११ जना कोरोना संक्रमित, भए ४१५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९ हजार ७०८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाका अनुसार सो अवधिमा ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९३५ जनाको मृत्यु भएको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् । हाल ८ हजार ५१७ जना संक्रिय संक्रमित छन् । जसमध्ये हाल ८ हजार २८५ जना होम आइसोलेसनमा रहेका छन् भने २३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८१ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
