१६ गतेको लागि तय भएको बागमती प्रदेशसभा बैठक स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको फागुन १६ गतेको बस्ने गरी तय भएको ९ औँ अधिवेशन बैठक अनिश्चितकालको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले सूचना जारी गर्दै विशेष कारणवस बैठक स्थगित गर्नुपरेको उल्लेख जनाएको छ ।
त्यस्तै प्रदेशसभा बैठक अघि आज दिउँसो १ बजे बस्ने गरी तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक फागुन ४ गते बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि फागुन १६ गतेको लागि तय भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारले मन्त्रिमण्डल ठूलो आकारमा विस्तार गरेको, अघिल्ला सरकारले गरेका राम्रा योजनाहरु कटौती गरेकोलगायत विषयमा औचित्य पुष्टिको माग गर्दै संदन् अवरुद्ध पार्दै आएको थियो । फागुन ४ को सर्वदलीय बैठकमा सहमति जुटेपछि सभामुख सानुकुमार श्रेष्ठले फागुन १६ गतेको लागि बैठक आह्वान गरेका थिए ।
१६ गतेको बैठक केन्द्र सरकारमा भइरहेको एमसीसी विवाद र कांग्रेसको मकवानपुरसहित बागमती प्रदेशका केही जिल्लामा भइरहेको अधिवेशनका कारण स्थगित भएको स्रोतले बताएको छ ।
