मेरो नेतृत्व स्वीकार्न बुद्ध लामा तयार छन्ः लामिछाने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले आसन्न जिल्ला अधिवेशनको सन्दर्भमा अन्तिमसम्म पनि सहमतिको प्रयास जारी रहने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै उनले अन्तिमसम्म पनि सहमतिको प्रयास हुने र सहमति नजुटेको अवस्थामा मात्रै निर्वाचन हुने बताए ।
उनले भने, ‘हामी सहमतिबाटै अधिवेशन सम्पन्न गर्ने पक्षमा छौँ । सहमति नजुटे मात्रै निर्वाचनमा जाने हो । मेरो नेतृत्वमा सहमतिको अन्तिम प्रयास हुँदैछ । सहमति जुट्छ जुट्छ । यदि जुटेन भने सभापति पदमा मेरो उम्मेदवारी छँदैछ ।’ उनले आफुलाई सभापति बनाएर अघि बढ्ने सन्दर्भमा अर्का आकाँक्षी बुद्ध लामा पनि तयार रहेको बताए । ‘मेरो नेतृत्वमा सहमति हुने अवस्था बन्दा बुद्ध जीले पनि आफु उपसभापति बसेर मलाई सहयोग गर्न तयार हुनुभएको छ ।’ उनले भने ।
उनले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अभिभावकीय जिम्मेवारीमा रहेर सहमतिबाटै अधिवेशन सम्पन्न गर्न अन्तिम प्रयास गरिरहेको बताए । स्थानीय निर्वाचन समेत नजिकिएको अवस्थामा कांग्रेस मत विभाजनमा जानु उपयुक्त नभएको निष्कर्षसहित प्रदेश सभापति र केन्द्रीय सह–महामन्त्रीलगायत शीर्ष नेताहरु सहमतिको लागि निरन्तर लागिरहेको लामिछानेले बताए ।
