आनन्दराम पराजुलीको घोषणा सभामा देखिएनन् बानियाँ र डीना
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आसन्न फागुन १५ गते हुने जिल्ला अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । शुक्रबार मात्रै हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली र कांग्रेस नेता जयराम लामिछानेले सभापति पदमा उम्मेदवारी घोषणा गरे । लामिछानेले चुनावी प्यानलनै सार्वजनिक गरे भने पराजुलीको पत्रकार सम्मेलनमा केही पदका उम्मेदवारहरु सार्वजनिक गरिएको थियो ।
मकवानपुरमा जयराम लामिछानेको पक्षमा संस्थापन इतरका नेताहरु खुलेरै लागेका छन् । लामिछानेले पनि आफु संस्थापन इतरबाटै उम्मेदवार भएको बताउँदै आएका छन् । उनले शुक्रबार आफ्नो चुनावी प्यानलसमेत घोषणा गरे । सो कार्यक्रममा नेताहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, आनन्द कठायत, नेतृ उमा दाहाल मञ्चमा देखिएका थिए ।

यता पराजुलीको पत्रकार सम्मेलनमा संस्थापन पक्षका केही नेताहरु मञ्चमा देखिए । पराजुलीले सम्बोधनको क्रममा आफुलाई संस्थापन पक्षको साथ रहेको र आफु संस्थापन पक्षबाटै उम्मेदवार भएको दावी गरे । तर, कांग्रेसको प्रभावशाली नेताको रुपमा छबि बनाएका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीना भने सो कार्यक्रममा देखिएनन् । पराजुलीले संस्थापन पक्षबाट आफु उम्मेदवार भएको दावी गरिरहँदा उनको कार्यक्रममा बानियाँ र डीना अनुपस्थित हुनुलाई चासोका साथ हेरिएको छ ।
यता संस्थापन पक्षबाटै पार्टी मकवानपुरका सचिव बुद्ध लामा र कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले पनि सभापति पदमा आकाँक्षा व्यक्त गरेका छन् । लामाले सचिवालय नै खोलेर चुनावी प्रचार प्रसार गरिरहेका छन् भने कार्यबाहक सभापति लामिछानेले आफ्नो नेतृत्वमा सहमतिबाटै अधिवेशन सम्पन्न गर्ने र प्रदेश सभापति बानियाँ र केन्द्रीय सह महामन्त्री डीनाले अभिभावकीय रुपमा सहमतिको लागि प्रयास गरिरहेको दावी गरिरहेका छन् । सभापतिकै आकाँक्षी प्रभात दाहाल भने यतिबेला पर्ख र हेरको अवस्थामा छन् ।
