कांग्रेस मकवानपुरको सभापतिमा आनन्दराम पराजुलीको उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार १७:१७

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने अधिवेशनमा जिल्ला सभापति पदमा आनन्दराम पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । पराजुलीले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारी संस्थापन पक्षबाट रहेको दावी गरे ।

पराजुलीले आफु सभापति पदमा विजयी भएमा मकवानपुर जिल्लालाई कांग्रेसमय बनाउने, तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने, जनताको सुख दुःखमा साथ दिने र विकास निर्माणमा सधै लागि पर्ने प्रतिवद्धता जनाए । साथै उनले आफुलाई कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समर्थन रहेको दावी गरे ।

उम्मेदवारी घोषणा कार्यक्रममा कांग्रेसका नेताहरु दामोदर खनाल, सुशान्त श्रेष्ठ, एतिराज सापकोटा, विश्वलाल लामा, राजवीर मोक्तान, प्रकाश बर्तौला, भूमिनन्द गौतमलगायत विभिन्न वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।