थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपाल थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार ७४३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन् । जसमध्ये ९ हजार ४०६ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा छन् ।
