वीपी विचार समाजले मनायो ७३ औं प्रजातन्त्र दिवस
मकवानपुर । वीपी विचार समाज मकवानपुरले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । हरेक वर्ष फागुन ७ गते मनाउँदै आएको प्रजातन्त्र दिवस शनिबार हेटौंडामा प्रजातान्त्रिक अभ्यास र जनआकर्षणको लागि नेतृत्वको विषयक विचार प्रवाह कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रम वीपी विचार समाज मकवानपुरका कार्यबाहक अध्यक्ष प्रदिप कोइरालाको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथयतामा भएको हो । सो क्रममा प्रमुख अतिथि एवम् जिल्ला सभापतिमा प्रत्यासी उम्मेदवार लामिछानेले आगामी बैशाखमा हुने स्थानीय निर्वाचनमा कांग्रेसलाई विजय गराउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए । साथै उनले पार्टीको निर्वाचन सर्वसहमत हुनुपर्नेमा जोड दिए ।
यस्तै, पार्टी सचिव एवम् सभापतिमा प्रत्यासी उम्मेदवार बुद्ध लामाले आफु सभापतिमा विजय भए विचार निष्ठाको राजनीति अगाडि बढाउने, जिल्लालाई कांग्रेसमय बनाउने र नीति विधिको शासन गर्ने बताए । यसैगरी, कार्यक्रममा निवर्तमान नगरसभापति एवम् जिल्ला सभापतिमा प्रत्यासी उम्मेदवार समेत रहेका आनन्दराम पराजुलीले आफुले सभापति पदमा विजय गरेमा मकवानपुर जिल्लालाई कांग्रेसमय बनाउने, तिनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने, जनताको सुख, दुःख विकास निर्माणमा सधै लागि परेको र आगामी दिनमा पनि लागि पर्ने बताए ।
पार्टीको पूर्व सभापति एवम् प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालको विशेष आतिथ्यतामा भएको कार्यक्रममा नगरसभापति इत्सव इटेनी, पार्टीका क्षेत्रीय समिति, जिल्ला समिति, नगर समितिका पदाधिकारी तथा वडासभापतिहरुको सहभागिता रहेको थियो ।
