निर्वाचन आयोग : ३ वटा नयाँ दल दर्ता, कुल संख्या १०६ पुग्यो

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १८:१३

काठमाडौं । निर्वाचन आयोगमा बिहिबार थप ३ वटा नयाँ दल दर्ता भएको छ । बिहिबार जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा नयाँ राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ । यससँगै हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ ।

नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम नयाँ दल दर्ता गरिएको हो । सरकारले २०७९ बैशाखमा स्थानिय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोही अनुसार आयोगले अहिले निर्वाचनको तयारी गरिरहेको छ । स्थानीय तह निर्वाचनको लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ । आयोगले यही फागुन १५ गतेभित्र निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आफ्नो दल दर्ता गर्न आव्हान समेत गरेको छ ।