कार्यकारी उपाध्यक्षबाट पदमुक्त भएका चौलागाईंले भने – सरकारको निर्णय विरुद्ध सर्वोच्च जान्छु

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १७:१०

मकवानपुर । बागमती प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट विहिबार पदमुक्त भएका सन्तोष चौलागाईँले आफुलाई राजनीतिक पूर्वाग्रह राखेर बर्खास्त गरिएको भन्दै आपत्ती जनाएका छन् । उनले आफुमाथि सरकारले अन्यायपूर्ण निर्णय गरेको भन्दै त्यसको विरुद्ध सर्वोच्च अदालत जाने प्रतिक्रिया दिए ।

उनले भने, ‘मैले परिषद्को गरिमालाई ध्यानमा राखी क्षेत्राधिकार भित्रै रहेर समग्र बागमती प्रदेशका युवाहरुको हितका लागि कार्य गर्दै आइरहेको थिएँ । सरकारले मलाई राजनीतिक प्रतिशोधका कारण आज पदमुक्त गर्ने निर्णय गरेको छ । यो अत्यन्तै अन्यायपूर्ण निर्णय हो भन्ने मैले ठानेको छु । यसको विरुद्ध म सर्वोच्च अदालत जानेछु ।’

विहिबार बसेकोे मन्त्रिपरिषद् बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नदिएको भन्दै चौलागाईँलाई बर्खास्त गरेको हो । त्यस्तै उनले पत्रकार सम्मेलन गरी परिषद्को गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति वेगर लोगो तथा स्लोगन सार्वजनिक गरेको, ऐन कानूनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको कारण बर्खास्त गर्नुपरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णशर्मा खनालले जानकारी दिए । चौलागाईंलाई २०७८ जेठ २७ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए ।