युवा शक्तिलाई उत्पादनमा जोडौँ, सहयोग गर्न तयार छौँ

तु खबर संवाददाता
२०७८ भाद्र २७,आईतवार ११:१७

लक्ष्मण उप्रेती, अहिले युवा सङ्घ मकवानपुरका संयोजक हुन् । नेकपा एमाले समर्थित युवाहरुको सङ्गठन युवा सङ्घको उनले नेतृत्व सम्हालेको धेरै भएको छैन । पछिल्लो विकसित राजनीतिक घटनापछि अहिले सो सङ्गठन जिल्लाभरि आफ्नो विस्तारको काममा क्रियाशील भइरहेको छ । ‘पछिल्लो राजनीतिक घटनापछि हामी हाम्रो सङ्गठनलाई थप परिमार्जित र मजबुद बनाउन लागेको छौँ, उनले तु खबरसँगको कुराकानीमा भने ।

माओवादी केन्द्रसित पार्टी एकता भएपछि अन्य सङ्घ सङ्गठनको जस्तै युवा सङ्घको पनि लय विग्रिएको थियो । माथिदेखि तलसम्म सबै कमिटीहरु तुस्तदुरुस्त हुन सकेका थिएनन् । विस्तार सङ्गठनलाई क्रियाशील बनाएर अघि बढाउने सोच त्यतिबेलाको नेतृत्वको हुँदाहुँदै पनि सोचे अनुसारको काम हुन सकेको थिएन ।

सन्तोष चौलागाईपछि युवा सङ्घको अध्यक्ष भएका उप्रेतीले भने – तर, अहिले समय फेरिएको छ, अब युवा सङ्घलाई थप सक्रिय बनाएर हामी अघि बढ्छौँ ।’

राधिका र गणेशबहादुर उप्रेतीका छोरा लक्ष्मणको जन्म २०४२ सालमा भएको हो । २०६४ सालको निर्वाचन लगत्तै सो सङ्गठनको मनहरी गाउँ कमिटी सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका उप्रेतीले नेकपा एमाले मनहरी गाउँ कमिटीको सचिवको रुपमा पनि काम गरे । उनी युवा सङ्घको ८ औँ अधिवेशनबाट जिल्ला सचिवालय सदस्य तथा मनहरी इन्चार्जको रुपमा क्रियाशील भए । सन्तोष चौलागाईले सङ्गठनको नेतृत्व सम्हाल्दा उनी सचिव थिए ।

उनी अहिले नेकपा एमाले जिल्ला कमिटी सदस्यको रुपमा पार्टीमा सक्रिय छन् । युवाहरुलाई स्वरोजगार बनाउन स्थानीयदेखि केन्द्रीय सरकारले परिपक्व योजना ल्याउनु पर्ने उप्रेतीको धारणा छ । युवालाई व्यवसायिक कामहरुमा जोड्न सकेमात्र समाज अघि बढ्छ भन्ने धारणा उनको छ । सामाजिक र आर्थिक रुपमा युवाहरु सबल भएमात्र राजनीति सङ्ग्लो हुन्छ भन्ने मान्यता आफ्नो रहेको र सरकारले पनि युवाहरुलाई अहिलेको समयसापेक्ष सीप तालिमहरु दिएर देश निर्माणमा लगाउनुपर्ने उनले बताए ।

अहिले तीन तहको सरकार भएका बेला युवाहरुको समस्याहरु मसिनो तरिकाले हल हुन सक्छ, उप्रेतीले भने –‘सरकार नै यसमा लाग्नुपर्छ ।’

समाजमा हुने लगत कामहरुको संरक्षण युवा सङ्घले नगर्ने पनि उप्रेतीले बताए । समाज शान्त र समुन्नत हुनुपर्दछ, यदी यहाँ कुनै गलत काम भएमा त्यसलाई युवा सङ्घले संरक्षण गर्दैन, उनले भने । समाजलाई बलियो बनाउन र देश निर्माण गर्नको लागि मेरुदण्डको रुपमा रहेको युवा शक्तिलाई विदेशिने अवस्थाबाट रोक्नुपर्छ, उनको सरकारलाई आग्रह छ ।

युवाहरुलाई विदेश जानबाट रोक्ने हो भने सरकारले उनीहरुलाई क्षमता अनुसारको कामको प्रबन्ध मिलाउनु पर्छ । सीपमूलक तालिमहरु दिने र निश्चित समयका लागि अनुदानमा उत्पादनका कामहरु गर्न लगाउने गरी सरकारहरुले योजना बनाउनु आवश्यक छ, उप्रेतीले भने । उनी स्थानीय सरकारले युवा लक्षित कामहरु सोचेजस्तो गरी गर्न नसकेको बताउँछन् ।

विदेशबाट नेपाल आएका युवाहरु त्यतिकै बसिरहेका छन्, उनीहरुलाई पनि उत्पादनमा जोड्नुपर्छ होइन र, उनी प्रश्न गर्छन् ।

कोरोना महामारीका कारण सबै क्षेत्रहरु तहस नहस भएको स्मरण गर्दैै उप्रेतीले त्यसबाट आहतमा परेकाहरुलाई पनि सरकारले राहत उपलब्ध गराउनुपर्ने उनको माग छ । यतिका बर्षसम्म व्यवसायहरु चौपट भएका छन्, मानिसहरुले समान्य जीवनयापन् पनि गर्न सकेका छैनन्, त्यही कारणले सरकारले कोरोनाका कारण पीडित भएकाहरुलाई राहत दिनुपर्छ, उप्रेतीको आग्रह छ ।

स्थानीय सरकारले पनि कोरोनाबाट सङ्कटमा परेकाहरुलाई राहत, विस्थापित भएकाहरुलाई पुनस्र्थापना, व्यवसायिक काममा क्षति व्यहोरेकाहरुलाई सहुलियत दिएमात्र सरकारप्रति नागरिकको अपनत्व हुने उनको बुझाई छ । गाउँघरमा ५/५ जना युवाहरुको समूह बनाई सरकारले युवाहरुलाई उत्पादनमूलक काममा जोड्नु पर्ने उनले बताए । यसका लागि हामी सहजीकरण गर्न तयार छौँ, सरकारले हामीसमेतलाई समेटेर नीति, योजना तथा कार्यक्रमहरु बनाउनु पर्यो, उनले भने ।