अन्तर्राष्ट्रिय युवा दिवसमा प्रदेश युवा परिषद्ले साताव्यापी कार्यक्रम गर्ने

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार १७:१७

मकवानपुर । प्रदेश युवा परिषद हेटौंडाले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा साताव्यापी कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले अगष्ट १२ अर्थात साउन २८ गतेबाट युवा दिवस साताव्यापी कार्यक्रम आयोजना गरी मनाइने र त्यसको लागि ५१ सदस्यीय मुल आयोजक समिति बनाइएको जानकारी दिए ।

साताव्यापी कार्यक्रमको पहिलो दिन साउन २८ गते प्रदेश बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको विशेष आतिथ्यतामा प्रदेश युवा परिषद्को हेटौंडास्थित कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै साउन २९ गते जिल्ला युवा समिति मकवानपुरको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिने, साउन ३० गते जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड कार्यक्रम आयोजना गरिने भएको जनाइएको छ ।

साउन ३१ गते बाल कल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रबाट जोगाउ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिने, साउन ३२ गते शिक्षाका लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम संचालन गरिने, भदौ १ गते हेटौंडा लेडी जेसिसको समन्वयमा वक्तृत्वकला प्रतियोगिता संचालन र भदौ २ गते कार्यक्रम समापन गरिने परिषदका उपाध्यक्ष चौँलागाईले जानकारी दिए ।

युवाको मुद्धाका पक्षमा आवाज मुखरित गर्नु र राष्ट्रिय तथा प्रदेश युवा परिषद् ऐनमा हरेक युवा लक्षित मुद्धाहरु कार्यान्वयन गर्न स्थानीय तह, प्रदेश र संघीय सरकारसमक्ष आवाज बुलन्द गराउनु नै अन्तर्राष्टिय युवा दिवस मनाउनुको उदेश्य रहेको उनले बताए ।

अन्तर्राष्ट्रिय युवा दिवस विश्वका विभिन्न मुलुकमा सन् २०२० र नेपालमा सन् २००४ देखि मनाउन सुरु गरिएको हो ।