हेटौंडामा आजबाट प्रदेशस्तरीय युवा सम्मेलन सुरु

तु खबर संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १७:२८

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट प्रदेशस्तरीय युवा सम्मेलन सुरु भएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले आजबाट दोस्रो संस्करणको प्रदेश युवा सम्मेलनको आयोजना गरेको हो ।

युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउँदै नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले आयोजना गरेको उक्त सम्मेलनको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक कार्यक्रमबीच उद्घाटन गरे ।

तीन दिनसम्म संचालन हुने सम्मेलनको प्रदेशका ११९ पालिकामध्ये ९१ पालिकाबाट २ सय युवाको सहभागिता रहेको छ ।

सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस्, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप हुनेछ ।

उद्घाटन कार्यक्रम परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, परिषद्को अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानसँगै प्रदेश सरकारका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।