कांग्रेस मकवानपुरको अधिवेशन फागुन १५ गते हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १४:५०

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १५ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको मकवानपुरसहित १३ जिल्लाको अधिवेशन दुई दिनपछि सारेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ । ती सबै जिल्लाहरुमा फागुन १५ गते नै अधिवेशन हुने भएको हो ।  साथै उल्लेखित १६ जिल्ला बाहेकका जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन निर्धारित मिति २०७८ फागुन १० गते भित्रै गर्ने समेत निर्णय भएको हो ।

यसअघि मकवानपुर अधिवेशनको मिति ३ पटक तय भएर पुनः सरेको हो । अधिवेशन नजिकिएसँगै कांग्रेसभित्र चुनावी सरगर्मी सुरु भएको छ । सभापति पदमा हालसम्म ५ जनाले आकाँक्षा व्यक्त गरेका छन् । बहालवाला कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, सल्लाहकार जयराम लामिछाने र नेवि संघका केन्द्रीय महामन्त्री प्रभातकुमार दाहालले सभापतिमा आकाँक्षा व्यक्त गरेका हुन् ।

त्यस्तै उपसभापति पदमा सचिव आनन्द कठायत, पार्टी प्रवक्ता प्रदिप कोइरालालगायतको आकाँक्षा देखिएको छ भने सचिव पदमा नेता यतिराज सापकोटा, भीमसेन महतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।  कांग्रेस मकवानपुरको अधिवेशनमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना निर्णायक मानिन्छन् । तर, उनीहरुले उम्मेदवारहरुको विषयमा हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।