नेपाली कांग्रेस : मकवानपुरसहित १६ जिल्लाको अधिवेशन फागुनमा
मकवानपुर । नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको मिति टुंगो लगाएको छ । यसअघि पटक–पटक स्थगित हुँदै आएको १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । यद्यपी कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछानेले भने स्थानीय निर्वाचन अघि पार्टीको जिल्ला अधिवेशन नहुने बताएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
उनका अनुसार फागुन १० गतेभित्र अधिवेशन बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गरिनेछ । पछिल्लो पटक कांग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो ।
