स्थानीय निर्वाचनको लागि राप्रपाले उम्मेदवारी खडा गर्ने

तु खबर संवाददाता
२०७८ माघ २७, बिहीबार १७:४३
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी बैशाखमा हुने निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवारी खडा गर्ने निर्णय गरेको छ । बिहिबार पार्टी कार्यालय धुक्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको सो बैठकले पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउँदै सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार, बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्याधिक मतले विजयी गराउन देशव्यापी रुपमा रुपमा घरदैलो कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने, पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण संचालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनौट गर्ने लगायतका निर्णय गरेको छ ।

सो बैठकले पार्टीलाई अनुशासित, मर्यादित बनाउन र पार्टी हित विपरीतका गतिविधिलाई निरुत्साहित गर्न वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरेको छ । समितिमा प्रवक्ता भक्ति प्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत रहेका छन् । साथै बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बुधबारका लागि बोलाउने निर्णय समेत गरेको छ ।