मकवानपुरमा पछिल्लो १० दिनमा ठूलो परिमाणमा लागूऔषध बरामद, ४ जना पक्राउ
मकवानपुर । मकवानपुरमा पछिल्लो १० दिनमा लागूऔषध कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको र उनीहरुको साथबाट ठूलो मात्रामा गाँजा, अफिम, नाइट्रोभेट, फेनारगन, डाइजेपाम, कोरेक्सलगायत लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले माघ १६ गतेदेखि २६ गतेसम्मको अवधिमा लागुऔषध गाँजा १५१ किलो, डाईजेपाम २ सय ८० एम्पुल, फेनार्गन २ सय ६८ एम्पुल र नुफिन २ सय ५० एम्पुल बरामद गरेको छ । सोही अवधिमा ३ वटा लागूऔषध सम्बन्धी मुद्धा दायर भएको छ ।
प्रहरीले गएको शुक्रबार लागु औषधसहित एक युवती र उनका श्रीमानलाई पक्राउ गरेको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १९ बस्तिपुरमा डेरा गरेर बस्दै आएकी मकवानपुरको बकैया घर भएकी २९ वर्षकी नानीमाया खत्री र उनका श्रीमान वर्ष ३१ को सुभाष खत्रीलाई उनकै डेराबाट ७ सय ९८ एम्पुल लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।
त्यस्तै प्रहरीले गाँजा १ सय ५१ किलोसहित २ जनालाई प्रक्राउ गरेको छ । प्रहरीले सोही अवधिमा ४१ किलो गाँजासहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बस्ने वर्ष ३१ का इश्वर लोप्चनलाई पक्राउ गरेको हो भने ११० किलो गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–५ बस्ने बर्ष ३६ को राम बहादुर घलानलाई पक्राउ गरेको हो ।
मकवानपुरमा प्रहरीले लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गरी मुद्धा चलाउने गरेको छ । हालसम्मको अवस्था विश्लेषण गर्ने हो भने, प्रहरीले पक्राउ परेकाहरुलाई मुद्धा चलाउने र बरामद गरेको गाँजा नष्ट गर्ने कार्यलाई मात्रै प्राथमिकता दिँदै आएको छ । लागूऔषधको कारोबारमा संलग्न मुख्य ठेकेदारसम्म प्रहरीको अनुसन्धान भएको पाइँदैन जसका यसलाई नियन्त्रण गर्न सकिएको छैन ।
